एक चित्रकारको कहानी


एउटा शहरमा एकजना चित्रकार बस्थे । उनले  एउटा असाध्यै सुन्दर तस्वीर बनाएर एउटा चोकमा राख्यो र चित्रको मुनि लेखे- "यो चित्रमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लाइदिनोस् !" जब उनले साँझ उक्त चित्र हेर्‍यो, पूरै चित्रभरी सबै ठाउँमा चिनो लागेर एकदमै फोहोर भैसकेको थियो । 

यो देखेर ऊ अत्यन्त धेरै दु:खी भयो । के गर्ने सोच्न सकेन र दिक्क मानेर बसिराखेको थियो, त्यत्तिकैमा एकजना ज्ञानी मानिस त्यही बाटो भएर कतै जाँदै थियो, चित्रकारलाई त्यस्तो हालतमा देखेर उनले कारण सोधे । चित्रकारले पूरै घटनाको बेलिबिस्तार लगाए ।

यो सुनेर ज्ञानी मानिसले भने, "तिमी एउटा काम गर, भोलि अर्को चित्र बनाएर यहीँ राख र चित्रमुनि यो लेख कि, यस चित्रमा ज-जसलाई जे-जे नमिलेको जस्तो लाग्छ, त्यसलाई मिलाएर जानुहोला !"

चित्रकारले भोलिपल्ट त्यसै गर्‍यो र साँझ हेर्दा चित्र जस्ताको तस्तै थियो, कसैले छोएको पनि थिएन । त्यसपछि बल्ल चित्रकारले संसारको प्रवृत्ति र नियति बुझ्यो ।

"खोट निकाल्नु, निन्दा गर्नु, कुरा काट्नु, आलोचना गर्नु, उपदेश दिनु एकदमै सजिलो छ । यस्ता काम दुनियाँको जस्तोसुकै निकम्माले पनि गर्न सक्छ तर समस्या चिनेर सही समाधान केहीले मात्रै गर्नसक्छ ।"

0 Comments