लागुऔषध दुर्व्यसनलाई जित्न सफल आशाको कथा

विश्वमा नै लागुऔषधको प्रयोग एक जटिल समस्या तथा चिन्ताको विषय बनेको छ । विश्वव्यापी रुपमा नै साझा समस्याको रुपमा रही आएको लागुऔषधको प्रयोग नेपालमा पनि राष्ट्रिय चुनौतीको रुपमा रहेको छ । मदिरा, सुर्तिजन्य पदार्थ, गाँजा, चरेसका साथै हेरोइन तथा अफिमलगायत अन्य विभिन्न प्रकारका लागुऔषधको प्रयोगले नेपालका युवावर्ग नराम्रोसँग प्रभावित भएको छ । जघन्य सामाजिक विकृतिको रुपमा रहेको लागुपदार्थको दुर्व्यसनले दुर्व्यसनीको मात्र अहित गर्दैन, यसले देशको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई पनि नराम्रोसँग प्रभाव पार्दछ ।

विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार लागुऔषध भनेको कुनैपनि किसिमको रासायनिक पदार्थ हो जुन स्वस्थ शरीरको लागि प्रयोग गर्नु आवश्यक छैन । यसले प्रयोग गर्ने व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा असर गरी मानिसको बानी व्यहोरामा परिवर्तन ल्याउँछ र अन्ततः उक्त व्यक्तिलाई दुर्व्यसनी बनाउँछ । लागुऔषध ऐन, २०३३ का अनुसार लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात र अफिम तथा कोकाको सारतत्व, मिश्रण तथा लवणसमेत मिसाई तयार गरिने कुनै पदार्थ भन्ने बुझिन्छ ।

नेपालमा लागुऔषध दुर्व्यसनको समस्या दिनानुदिन भुसको आगोझैँ फैलिरहेको छ । नेपालमा कुल जनसङ्ख्याको ४०.४ प्रतिशत युवा (१ करोड ७ लाख) छन् । झण्डै आधा जनसङ्ख्या युवा रहेको मुलुकमा बढ्दै गइरहेको बेरोजगारीको समस्याले उनीहरूलाई प्रभाव पारेको त छ नै, यसबाहेक लागुपदार्थ दुर्व्यसनीमा फस्ने युवाको संख्यामा भइरहेको वृद्धिले मुलुकको भविष्य नै अन्धकारमा पार्ने सम्भावना पनि रहन्छ  वि.सं. २०६३ मा गरेको सर्वेक्षण अनुसार नेपालमा ४६,३०९ लागुऔषध दुर्व्यसनी रहेको थियो भने वि.सं. २०६९ मा गरेको सर्वेक्षणले यो सङ्ख्या बढेर ९१,५३४ पुगेको देखाएको छ । यसले ६ वर्षभित्रमा दुर्व्यसनीको सङ्ख्यामा ९८ प्रतिशत वृद्धि भएको देखाउँछ भने वार्षिक रुपमा ११.४ प्रतिशतले बढिरहेको देखिन्छ । महिला र पुरुष दुर्व्यसनी सङ्ख्याको तुलना गरी हेर्दा ८५ हजार २०४ जना (९३.१%) पुरुष दुर्व्यसनी छन् भने ६ हजार ३३० जना (६.९%) महिला रहेका छन् । उमेरका हिसाबले हेर्दा २०–२४ वर्ष उमेर समूहका सबैभन्दा बढी (३३.२%) दुर्व्यसनी छन् भने दोस्रोमा २५–२९ उमेर समूह (२२.४%) र तेस्रो बढीमा १५–१९ वर्षको उमेर समूह पर्दछ, जुन समूहमा १९.९ प्रतिशत दुर्व्यसनी पर्दछन् । (स्रोत : Survey Report on Current Hard Drun Users in Nepal – 2069.)

विशेष गरी दुर्व्यसनबाट युवा किशोर किशोरी तथा स्कुले बालबालिका बढी प्रभावित हुन पुगेका छन् । देशका कर्णधार युवायुतीहरू लागुऔषध जुटाउनको लागि चोरी, डकैती, लुटपाट, हत्या बलात्कारतर्फ उन्मुख हुँदै गएका छन् । अर्कोतर्फ लागुपदार्थ प्रयोगकर्ताहरूको स्वास्थ्य कमजोर हुदै जाने भएकाले यसबाट व्यक्ति, परिवार, समाज तथा राष्ट्रलाई नै ठूलो क्षती पुर्याएको छ ।

पारिवारिक वातावरण राम्रो नहुनु पनि लागुपदार्थ दुर्व्यसन समस्या बढ्नुको प्रमुख कारण हो । परिवारका सदस्यहरूबीच झैझगडा, कलह निरन्तर हुने गरेमा त्यो परिवारका बालबालिका र किशोरकिशोरीमा मानसिक असर पर्दछ । परिवारका अभिभावकहरूले आफ्ना छोराछोरीलाई पर्याप्त समय दिन नसक्दा, उनीहरूलाई अनावश्यक रुपमा गालीगलोज र कुटपिट गर्दा उनीहरूमा चिन्ता र नैराश्यता बढ्दछ । यस्तो अवस्थामा उनीहरू गलत व्यक्तिको प्रभावमा परी लागुपदार्थको प्रयोग गर्न पुग्छन् । यसको अन्य कारणमा गलत साथीसंगत र चेतनाको कमी पनि पर्दछ । त्यस्तै, युवाहरूमा आफुले सोचेअनुरुप सफलता हासिल हुन नसक्दा वा कुनै नजिकका मित्र तथा प्रेमी वा प्रेमीका सँगको विछोड आदि जस्ता कारणले पनि उनीहरू लागुऔषध दुर्व्यसनीको संगतमा पुग्न सक्छन् । समाजमा विद्यमान असमान व्यवहार, भेदभाव र गरिबी तथा अभावले पनि यो समस्या बढाउन भूमिका खेलेको देखिन्छ । लागुपदार्थको ओसार–पसार तथा बेचविखन जस्ता निकृष्ट कार्य गर्नेहरूको सञ्जाल पत्ता लगाउन नसक्नु वा पत्ता लागे तापनि उनीहरूलाई कानुनी कार्यवाही नहुँदा दुर्व्यसनीहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

जिज्ञासु स्वभावका कारण लागु पदार्थको कुलतमा किशोरकिशोरी सहजै फँस्न सक्छन् । फसिसकेपछि उनीहरूलाई त्यो जालोबाट मुक्त गराउन अत्यन्तै कठीन हुन्छ । माथि भनिएझैँ यसले मानिसको केन्द्रीय स्नायू प्रणालीमा नै प्रभाव पार्ने हुँदा यसको लत लागेपछि यसबाट मुक्त हुन कठीन हुन्छ । तर, मानिसले चाहेमा असम्भव केही पनि छैन । दुर्व्यसनबाट मुक्त हुन्छु भन्ने उसको दृढ अठोट र उसका परिवार तथा साथीभाइको सहयोग भएमा दुर्व्यसनबाट मुक्त गराउन सकिन्छ । त्यस्तै दृढ अठोट लिएर कुलतबाट निस्किन सफल एकजना युवतीको जीवनमा आधारित घटना यहाँ प्रस्तुत गरिएको छ ।

घटना मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका बस्ने आशा विश्वकर्माको (नाम परिवर्तन गरिएको छ) हो । गलत साथीहरूको संगतको कारण कथा ६ मा अध्ययनरत हुँदा नै लागुपदार्थको दुर्व्यसनमा फँस्न पुगेकी थिईन् आशा । त्यतिबेला उनको उमेर १३ वर्ष मात्र थियो । एकदिन सँगै बेन्चमा बस्ने अत्यन्तै मिल्ने साथीले ‘चुरोट खाउ’ भनेर आग्रह गरिन् । आशाले पहिलो आग्रह त तत्कालै अस्विकार गरिन् । तर, साथीले गरेको पटकपटकको जिद्धि र किशोरीमनमा जागेको ‘एकपटक खाइहेरौँ न त’ भन्ने जिज्ञासाले अन्ततः उनलाई चुरोटको अम्मली बनाइदियो । आर्थिक हिसाबले निम्नवर्गीय परिवारमा जन्मेकी आशाको घरमा आमा, दुई दिदी र एकजना भाई छन् । हाँस्ने खेल्ने कलिलो उमेरमा साथीको लहलहैले उनलाई दुर्व्यसनीको बाटोमा डोर्याएको थियो । लगभग २ वर्षसम्म त उनको दुर्व्यसनबारे कसैले थाहा पाएनन् । कक्षा ८ भन्दा माथिको अध्ययनको लागि नयाँ स्कुलमा भर्ना भएपछि उनको दुव्यर्सनबारे साथीहरूले थाहा पाएर घरमा भनिदिएपछि आमाबाट गालि मात्र होईन पिटाइ पनि खानुपर्यो । त्यसपछि त तनावका कारण उनको दुर्व्यसन गर्ने मात्रा झनै बढ्न थाल्यो । घरमा आर्थिक अभाव थियो । मजदुरी गर्ने आमा शान्ता विश्कर्माले घर धानेकी थिईन् । चुरोटबाट सुरु गरेको उनको दुर्व्यसनको यात्रा गाँजासम्म पुगिसकेको थियो । नियमित गाँजा खान पैसा नपुग्दा घरबाट पैसा चोर्न थालेकी थिइन् । आशाको बालापन गाँजा र चुरोटको दुर्व्यसनले सकाईरहेको थियो । मनमा अनेकथरी नकारात्मक भाव आईरहन्थ्यो । धेरैपटक ‘मर्न पाए पनि हुने’ भन्ने पनि लाग्यो र दुई/तिन पटक त आत्महत्या गर्नेबारे सोँचेकी पनि थिइन् ।

त्यहीबेला उनको टोलमा सडक बालबालिकाका सवालमा कार्यरत सिविन संस्थाको ‘बाल हेल्पलाईन’ कार्यक्रममार्फत् किशोरी समूह गठन भयो र संयोगवश आशा पनि उक्त समूहको सदस्य बन्न पुगिन् । त्यही समूहको सदस्य बन्नु आशाको जीवनमा एक महत्वपूर्ण घुम्ती सावित हुन पुग्यो । दुव्र्यसनीको कुलतबाट छुट्न सिविन संस्थाको बाल हेल्पलाईनमा २ महिना बसिन् । बाल हेल्पलाईनमा बस्दा दिन कटाउन सहज थिएन । लामो समयसम्म चुरोट, गाँजा खाने बानी परेको उनलाई खान नपाउँदा बिरामी जस्तै हुन्थिन् । उनलाई कहिले ज्वरो आएको जस्तो तातो त कहिले जीउ बरफमा राखेको जस्तो चीसो भएझैँ लाग्थ्यो । हेल्पलाईनमा बस्दा ‘अब म फेरी खान्छु’ भन्ने कुरा पनि पटकपटक दिमागमा आएको थियो । तर, त्यति नै बेला कुलतमा लाग्दा आमा रुनु भएको अनुहार, कुलतमा फँस्दा साथीभाई र छिमेकीबाट भएको दुर्व्यवहारको सम्झना आउँथ्यो । सिविन संस्थाका सर र मिसहरूले गर्नुभएको माया र उहाँहरूको ‘कुरा बुझाउने तरिका’ले आशाको मन फेरियो र उनलाई पुनः दुर्व्यसनीको बाटोमा जानबाट रोक्यो । दुई महिना हेटौँडाको सिविन संस्थामा र ३ महिना काठमाडौंको बालिका ‘पीसहोम’मा बसेपछि आशाको जीवनमा ठूलो परिवर्तन आयो । काठमाडौंको पीसहोममा बस्दा त्यहाँ आमाबुबा नभएका गरिब परिवारका बालिकाहरू पनि भेटिए । त्यहाँ बस्दा उनलाई ‘समस्या सबैको परिवारमा हुनेरहेछ’ भन्ने महसुस भयो । त्यहाँ रहेका अन्य बालिकाको तुलनामा आफ्नो समस्या त केही पनि होइन रहेछ भन्ने लाग्यो र ‘लागुऔषधको सेवन नै चिन्ता हटाउने माध्यम होईन रहेछ’ भन्ने बुझिन् ।

जीवनको महत्वपूर्ण ४ वर्ष लागुपदार्थ दुर्व्यसनमा परेको आशा अहिले १७ वर्षकी भईन् । पिस होममा बसेर फर्कींदा आशाले दुर्व्यसनलाई पछाडि छाडिसकेकि थिईन् । आशा अहिले आफू सदस्य भएको किशोरी समूहको जिम्मेवार पदमा रही अरु साथीलाई दुर्व्यसनीमा फँस्न हुन्न भन्ने कुरा सिकाईरहेकी छिन् । समूहमार्फत् लागुपदार्थ दुर्व्यसन, बालविवाह तथा महिला हिंसा विरुद्ध चेतनामुलक नाटकहरू गर्नु र यसबारे सिकाउनु नै उनको मुख्य दिनचर्या बनेको छ । कुलतमा लागे पनि पढ्न नछाडेकी आशा अहिले एक उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा कानुन विषय अध्ययनरत छन् । उनको लक्ष्य भनेको असल मान्छे बनेर आफ्नो आमा र परिवारलाई खुसी बनाउदै दुर्व्यसनमा नलाग्न सबै किशोरकिशोरीलाई प्रेरणा दिनु रहेको छ । दुर्व्यसनको लतबाट निस्किँदा आशाको आमा र सिविनका सहजकर्ताहरू सबैभन्दा खुसी भएका छन् । आशा भन्छिन्, “परिवारको माया र सिविन संस्थाको सहयोग नभएको भए कुलतले मेरो जीवन कस्तो हुन्थ्यो होला, अहिले त सोँच्दा पनि मन आत्तिएर आउँछ । जे होस् म दुव्र्यसनको दलदलबाट उम्किन सकेँ, अब मेरो बाँकि जीवन अरुको भलाईको लागि बिताउन चाहन्छु । वास्तवमा नै मैले नयाँ जीवन पाएकि छु । यसको लागि म ‘सिविन हेल्पलाईन’ र ‘काठमाडौं पिस होम’लाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । यी दुई संस्था नभएको भए म अझै दुर्व्यसनी भएर नारकीय जीवन बाँचिरहेकी हुन्थेँ होला ।”

0 Comments

Newest